ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ फावाखोलास्थित बनपाला सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रामा जाँदै गरेको बोलेरो आइतबार बिहान करीब ९ बजे दुर्घटनामा परेको हो । ब्रेक फेल भएर बोलेरो झन्डै ८० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय अन्दाजी ३० वर्षीया भावना विकलाई उपचारका लागि जिल्ला अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको हो ।
बोलेरोमा विक र चालक मात्रै सवार थिए । घाइते चालकको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।