काठमाडौं । प्रतिनिधिसभाको चालु बैठक १० दिनपछि मात्र बस्ने गरी स्थगित गरिएको छ । शुक्रबारको बैठकपछि सभामुख देवराज घिमिरेले बैठक साउन १९ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको घोषणा गरे ।
शुक्रबारको बैठकमा राष्ट्रियसभाबाट पठाइएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । साथै, सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा देखिएको त्रुटिको अनुसन्धान गर्न गठित संसदीय छानबिन विशेष समितिको कार्यकाल ७ दिन थप गर्ने प्रस्ताव पनि बैठकले पारित गर्यो । यसअघि समितिको कार्यकाल आइतबारसम्म तोकिएको थियो ।
त्यसैगरी, नेपाली कांग्रेसका चार जना सांसदहरूको विषयगत समिति परिवर्तनसम्बन्धी प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गर्यो । सभामुख घिमिरेद्वारा पेस गरिएको उक्त प्रस्ताव अनुसार दिक्पालकुमार शाही अब कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट महिला तथा सामाजिक मामिला समितिमा, विष्णुकुमार कार्की सोही समितिबाट पूर्वाधार विकास समितिमा, प्रतिमा गौतम पूर्वाधार विकास समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा, र आशा विक महिला तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा सरुवा भएका छन् ।