काठमाडौं । देशभरका ७७ वटै जिल्लाहरु पूर्णखोप घोषणा भएका छन । हिजो काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाहरू पूर्णखोप घोषणा भएसँगै देशभरका सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन ।
नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिब दुई दशक अघिदेखि शुरू गरिएको थियो । हिजो एकै पटक ६ वटा जिल्ला पूर्णखोप घोषणा भएसँगै देशका सबै जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन् ।
हरेक वर्ष घरदैलो कार्यक्रम गरी खोज र खोप अभियानअन्तर्गत दुई वर्षमुनिका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपहरूको पूर्णमात्रा पाए नपाएको पहिचान गरिन्छ । त्यस्तै खोप लगाउन छुट भएका बालबालिकालाई सबै खोपहरूको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गरिन्छ ।
जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नौ प्रकारका खोप दिइने गरिन्छ । ती नौ प्रकारका खोप सातपटकमा १८ मात्रा खोप लगाउने गरिन्छ । ती नौ प्रकारका खोप विभिन्न १३ वटा रोगका विरुद्ध लगाइन्छ ।