भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको तयारी पुरा भएको छ । मन्दिर संरक्षण तथा विकास समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर सो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष धर्मराज बस्नेतले हरेक बर्ष झै यस बर्ष पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३८दिने श्रावणी मेलाको तयारी पुरा भएको बताए । श्रावणी मेलामा शनिबार र सोमबार दर्शनाथीको अत्याधिक भीड हुने भए पनि पुजा गर्न एक घण्टा भन्दा बढी बस्न नपर्ने गरी व्यवस्था मिलाइएको बस्नेतले बताए ।

अध्यक्ष बस्नेतका अनुसार, यसबर्ष मेलामार्फत भेटी र चन्दा सहयोगबाट १ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । साउन १ गते विहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने भएको छ । मेलाको शुभारम्भ बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्ने भएका छन् भने समापन सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
मेलालाई थप प्रभावकारी बनाउँन प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा कलाकारद्धारा भजन कृतन तथा प्रस्तुती गरिने भएको छ । २०६६ साल भदौमा डोलेश्वर मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको अवसरमा सर्वसाधारणले भदौ ६ गते मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने छन् ।
भक्तजनहरुका लागि प्रवेश खुल्ला तथा श्राबणी मेला २०८२ को यज्ञ पुर्णाहुती सहित मेलाको समापन हुने भएको छ । मेला अवधिमा पाँच दर्जनबढी स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिने जनाइएको छ।

कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसंगै पर्यटकीय गन्तव्यको रुपमा समेत बिकास हुंदै गएको बताए । मेलालाई व्यवस्थित र शुरक्षित बनाउँन सिसीटिभीसमेत जडान गरिएको बस्नेतले बताए ।
केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भइसकेको धार्मिक स्थालका रुपमा परिचित भएको बताउँदै वडाअध्यक्ष बस्नेतले पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय दर्शनार्थी आउने गरेको जानकारी दिए ।
डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन थालेको बताउदै गरेको जानकारी दिए स्थानीयस्तर र यहाँको जनतासँग जोडेर यहाँको आर्थिक विकासका लागि समेत नगरपालिका र वडा कार्यालयले कार्यक्रम अगाडि बढाएको जानकारी दिए ।

श्रावणी मेलामा शान्ति सुरक्षाका लागि प्रयाप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिने र दर्शनार्थीको आवतजावतका लागि सार्वजनिक यातायातको सहज व्यवस्था गरिएको वडाध्यक्ष बस्नेतले बताए ।
समितिका महासचिव हरिशरण बस्नेतले यस बर्ष श्रावणी मेलाबाट १ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको बताए । पछिल्लो एक वर्षयता डोलेश्वरमा नेपाली रुपैया बरावर भारतीय रुपैया संकलन हुनुले पनि भारतीय धार्मिक तिर्थयात्रीको संख्या बढेको बुझ्न सकिने महासचिव बस्नेतको भनाई छ ।