काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ केही उत्तरतिर रहेको छ।
महाशाखाका अनुसार हाल देशका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहेको छ भने अन्य स्थानहरूमा आंशिक बदली छ। पहाडी भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।
शनिबार देशभर मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश लगायत पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि व्यक्त गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने जनाएको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहन सक्ने भएकाले ठूला-साना नदी, नाला र खोलाहरूको जलस्तर बढ्नसक्ने अवस्था छ। यसले जनधनको जोखिम निम्त्याउन सक्ने भएकाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।