भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

शनिवार, आषाढ २८ २०८२
शनिवार, आषाढ २८ २०८२
  • भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

    काठमाडौं । एअर इन्डिया फ्लाइट १७१ को दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टअनुसार बोइङ ७८७ ड्रीमलाइनर र त्यसमा जडित इन्जिनहरूमा हालसम्म कुनै प्राविधिक सल्लाह वा चेतावनी जारी गरिएको छैन ।

    गत जुन १२, २०२५ मा भारतको अहमदाबादमा एअर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनामा परेको थियो। उक्त घटनामा विमानमा रहेका २०४ जना सबैको ज्यान गएको थियो । विमान मेडिकल होस्टेलमा ठोक्किँदा पाँचवटा भवन पूर्णरूपमा ध्वस्त भएका थिए भने भुइँतलामा रहेका करिब ३० जना व्यक्तिहरूको पनि मृत्यु भएको थियो ।

    रिपोर्टमा उल्लेख भएअनुसार दुबै इन्जिनको फ्युल कन्ट्रोल स्वीचहरू ‘रन’ अवस्थाबाट ‘कट–अफ’ मा सारिएको पुष्टि भएको छ, जुन सामान्यतः अवतरणपछि मात्र गरिन्छ । तर, यस्तो गर्ने कारणबारे कुनै आपतकालीन अवस्था भने रिपोर्टमा उल्लेख छैन ।

    इन्जिन १ केही समय पुनः सक्रिय हुने संकेत देखिएको भए पनि इन्जिन २ को गतिको गिरावट नियन्त्रणमा आउन सकेन । एउटा इन्जिन रिस्टार्ट भए पनि विमानको तीव्रता घट्दै गएको अवस्था सुधार गर्न सकिएन । उडानमा प्रयोग गरिएको इन्धनको नमुना परीक्षण गर्दा कुनै समस्या नभएको देखिएको छ ।

    दुर्घटनाअघि पाइलट र चालक दलको ब्रेथलाइजर परीक्षण गरिएको थियो, जसअनुसार सबै ‘उडानका लागि योग्य’ प्रमाणित भएका थिए ।

    हालसम्मको अनुसन्धानबाट विमानमा कुनै यान्त्रिक वा सफ्टवेयरसम्बन्धी त्रुटि फेला परेको छैन। यद्यपि, अन्तिम निष्कर्ष आउन अझै केही समय लाग्ने देखिएको छ ।

    यसैबीच, एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । कम्पनीले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताउँदै अहिले थप टिप्पणी गर्न नसकिने जनाएको छ ।

    भारत सरकारको नागरिक उड्डयन मन्त्रालयका अनुसार दुर्घटनाको अनुसन्धान विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) मार्फत भइरहेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij