काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको आसपासमा रहेकाले मौसममा यसको असर देखिएको हो ।
यसको प्रभावस्वरूप लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीदेखि मौसम प्रायः सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागमा केही स्थानमा तथा बाँकी क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ ।
रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी लगायत देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावनाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।