काठमाडौं । नेपालमा हाल कुल जनसङ्ख्याको २७ प्रतिशत हिस्सा शहरी क्षेत्रमा बसोबास गर्ने देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सबैभन्दा धेरै शहरी जनसङ्ख्या बागमती प्रदेशमा रहेको छ, जहाँ ५६ प्रतिशत नागरिकहरू शहरमा बस्छन् ।
विशेषगरी काठमाडौं उपत्यकाको अवस्था हेर्दा करिब ९१.७ प्रतिशत जनसङ्ख्या शहरी क्षेत्रमा रहेको पाइएको छ । तथ्याङ्कअनुसार शहरीकरण प्रायः खेतीयोग्य जमिनमा फैलिँदै गएको छ, जसको असर कृषियोग्य जमिनमा परेको छ ।
सुदूरपश्चिम प्रदेशमा मात्रै करिब १७ प्रतिशत खेतीयोग्य जमिन शहरीकरणका कारण घटिसकेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खेतीयोग्य जमिन कम भएको र ती क्षेत्रमा भविष्यमा ठूलो स्तरको शहरी विस्तार हुन कठिन हुने अनुमान गरिएको छ ।
तथ्याङ्क अनुसार देशका प्रमुख सहरहरूमा झन्डै ४३ प्रतिशत नागरिकहरू भाडामा बस्ने गरेका छन् भने गाउँपालिकाहरूमा भाडामा बस्ने परिवारको संख्या मात्र २.६ प्रतिशत रहेको छ ।
इन्टरनेट पहुँचको कुरा गर्दा, काठमाडौं उपत्यकामा करिब ७८ प्रतिशतभन्दा बढी जनसङ्ख्या इन्टरनेटमा पहुँच राख्ने देखिएको छ । शहरीकरणसँगै इन्टरनेट प्रयोगको पहुँच पनि बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।