काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वर र व्यापार व्यवसायी संघको संयुक्त आयोजनामा सम्पन्न कर शिक्षा कार्यक्रममार्फत आर्थिक विधेयक २०८२ अन्तर्गतको छुट तथा सुविधा सम्बन्धी व्यवस्थाबारे व्यवसायीहरूलाई विस्तृत जानकारी दिइयो । कर अधिकृतहरूद्वारा प्रस्तुत महत्वपूर्ण प्रावधानहरू व्यवसायीको करसम्बन्धी ज्ञान अभिवृद्धि गर्न केन्द्रित थिए ।

कार्यक्रममा कर अधिकृत रमेश श्रेष्ठले आर्थिक विधेयक, २०८२ को प्रमुख प्रावधानहरू प्रस्तुत गर्दै करदाताहरूका लागि लागू हुने विभिन्न छुट र सुविधाबारे स्पष्ट जानकारी दिए । उनले संवत् २०८१ सालको चैत्र मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण नबुझाएको भए पनि २०८२ पौष मसान्तभित्र कर विवरण र लाग्ने करसहित पच्चीस प्रतिशत व्याज तिरेमा शूल्क, थप दस्तुर र बाँकी व्याज मिनाहा हुने महत्वपूर्ण व्यवस्था रहेको जानकारी गराए ।
संघका अध्यक्ष नविन लुइंटेलले यस्तो कार्यक्रम व्यवसायीहरूका लागि अत्यन्त उपयोगी भएको भन्दै धन्यवाद ज्ञापन गरे । अन्य पदाधिकारी तथा सहभागीहरूद्वारा नियमित रूपमा कर तिर्नेलाई प्रोत्साहन हुने गरी छुट सुविधा ल्याउनुपर्ने सुझाव पनि व्यक्त गरियो ।

प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले प्रत्येक वर्षको आर्थिक ऐनमार्फत करका दर, छुट र नयाँ व्यवस्थाहरू आउने भएकाले करदातालाई समयमै जानकारी दिनु कर कार्यालयको प्रमुख दायित्व भएको बताए । साथै, उनले कर परिपालना नगर्नेलाई छुट सुविधा दिन उपयुक्त नहुने मान्यता अनुरुप नै आर्थिक विधेयक,२०८२ मा यस प्रकृतिका व्यवस्थाहरू सिमित रहेको स्पष्ट पारे ।
कार्यक्रमको सञ्चालन तथा सहभागीहरूको प्रश्नोत्तर सत्र कर अधिकृत वेद प्रसाद खनालले सञ्चालन गरेका थिए ।