काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक प्रविधिसहितको हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ । नेपाल आयल निगमले पहिलोपटक आफ्नै लगानीमा ३६ लाख लिटर (३ हजार ६ सय किलोलिटर) इन्धन भण्डारण क्षमताको डिपो निर्माण गरेको हो ।
डिपो निर्माणमा पूर्ण रूपमा स्वदेशी सीप, स्रोत र परामर्शदाताको प्रयोग गरिएको छ । निगमको ५५ वर्षे इतिहासमै पहिलोपटक स्वदेशी निर्माण कम्पनी र आन्तरिक स्रोतबाट डिपो निर्माण गरिएको बताइएको छ ।
परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवका अनुसार, यस डिपोबाट पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरूलाई आवश्यक हवाई इन्धन आपूर्ति गरिनेछ । यसअघि भारतीय आयल निगमको सहकार्यमा यस्ता डिपोहरू बनाइँदै आएका थिए, तर यसपटकको डिपोमा पूर्ण रूपमा निगमकै लगानी रहेको हो ।

डिपो निर्माणको लागि नागरिक उड्डयन प्राधिकरणसँग करिब ९ हजार २१५ वर्गमिटर क्षेत्रफलको जग्गा भाडामा लिइएको छ । २०७७ सालको चैत २ गते बोलपत्र आह्वान गरिएको र २०७९ सालको कात्तिक २९ गते सार्वजनिक खरिद ऐनअनुसार ठेक्का सम्झौता गरिएको थियो । २०७९ पुस १५ मा जग्गा लिज सम्झौता भएपश्चात् २०८० साउन १ गते शिलान्यास गरिएको थियो ।
डिपोमा तीनवटा ठूला भर्टिकल स्टोरेज ट्यांक निर्माण गरिएको छ, जसको प्रत्येकको उचाइ र व्यास १२ मिटरको छ । सुरक्षा उपायस्वरूप १२०० किलोलिटर क्षमताको पानी ट्यांकी बनाइएको छ, जसमा फायर फाइटिङ प्रणाली जडान गरिएको छ । आगलागी नियन्त्रणका लागि ४ हजार लिटर क्षमताको फोम स्टोरेज ट्यांक, २ वटा २३० हर्सपावर क्षमताका फायर फाइटिङ डिजेल पम्प, १५ हर्सपावर क्षमताको जक्की पम्प र ८ इन्चको पाइपलाइन पनि राखिएको छ ।
रिफ्युलिङ तथा ट्यांकरबाट ल्याइएको इन्धन भण्डारण गर्न आवश्यक प्रवाह र सफाइ प्रणाली जडान गरिएको छ, जसमा १ माइक्रोन र ५ माइक्रोनका फिल्टरहरू प्रयोग गरिएका छन् । सबै संरचना अमेरिकन पेट्रोलियम इन्स्टिच्युटका मापदण्ड अनुसार निर्माण गरिएको छ ।
नेपाल आयल निगमका अनुसार, पोखरा विमानस्थलको बढ्दो उडान चापलाई ध्यानमा राख्दै यस डिपोको निर्माणले हवाई इन्धन आपूर्तिमा ठूलो सुधार ल्याउनेछ ।