काठमाडौं । विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजायको फैसला सुनाएको छ । यसअघि उनलाई दोषी ठहर गरिसकेको अदालतले सोमबार सजाय निर्धारण गरेको हो ।
पद्मा कोलोनीलाई सरकारी जग्गा उपलब्ध गराउने क्रममा उनले ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको अभियोग लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ साल पुस १४ गते उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले बस्नेतलाई दुईवटा कसुरमा दोषी ठहर गर्दै भ्रष्टाचार गरेको अभियोगमा आठ वर्ष र सार्वजनिक पदमा बसेर गरेको भ्रष्टाचारका लागि थप तीन महिना कैद सुनाएको हो । साथै, उनीसँग २ करोड ३० लाख रुपैयाँ जरिवाना र २६ करोड २५ लाख मूल्य बराबरको सम्पत्ति जफत गर्ने आदेशसमेत दिइएको छ ।
यसै मुद्दामा संलग्न पद्मा कोलोनी तथा पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजु प्रसाद कँडेललाई पनि अदालतले दोषी ठहर गर्दै आठ वर्ष कैद, २ करोड ३० लाख जरिवाना र बिगो असुल गर्ने निर्णय गरेको छ ।
अदालतको फैसलाअनुसार बस्नेतले १ करोड ५ लाख र कँडेलले ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा बुझाउनुपर्नेछ । यता, बस्नेतकी श्रीमती उर्मिला बस्नेत भने मुद्दाबाट सफाइ पाएकी छन् ।