काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष प्रधानमन्त्री पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजसंग भेटवार्ता गरेका हुन् ।
स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको जनाइएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपालको औपचारिक भ्रमणको निमन्त्रण दिँदै नेपालका स्पेनको दूतावास खोल्नसमेत आग्रह गरेका थिए।
त्यस क्रममा स्पेनका प्रधानमन्त्री साञ्चेजले राष्ट्रसङ्घको शान्ति मिसनमा नेपालले खेल्दै आएको भूमिकाप्रति प्रशंसा गरेका थिए। भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए।