काठमाडौं । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको अस्पताल भवन निर्माणको काम ठप्प भएको छ।निर्माण कम्पनी श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी काठमाण्डौले गएको पुस २४ गतेसम्ममा सक्नुपर्ने अस्पताल भवन निर्माणको काम दुई महिनादेखि ठप्प भएको हो ।
गएको पुसदेखि अस्पताल भवन निर्माणको काम ठप्प भएको जिल्ला अस्पताल खोटाङका डा रुपेश संग्रौलाले बताए । जिल्ला अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार १५ शय्याको जिल्ला अस्पतालका लागि ५० शय्याको भवन निर्माण शुरु गरिएको थियो ।
शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत २२ करोड ९० लाख ४७ हजार रुपैयाँमा अस्पताल भवनको ठेक्का लागेको थियो । अस्पताल भवन निर्माणको काम किन ठप्प भएको हो भन्ने कारण ठेकेदार कम्पनीले अझै नखुलाएको अस्पताल प्रशासनकाे भनाइ छ ।