काठमाडौं । नेपाली कांग्रेसले यही फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदमा पार्टीका तर्फबाट युवराज शर्मालाई र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार उनको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
बैठकले शर्माको पक्षमा मतदान गर्न राष्ट्रियसभामा रहेका अन्य राजनीतिक दल तथा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको संसदीय दलका नेताको सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको पदाधिकारी बैठकले सांसद दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि सोमबार बिहान ११ देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । यही फागुन २९ गते मङ्गलबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ ।