काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका घटनासम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति यो आदेश दिएको हो ।
पुर्पक्ष थुनामा पठाइएका अन्य व्यक्तिहरूमा सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत र कुमार तामाङ छन् ।
यही घटनासम्बन्धी मुद्दा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जेठ ११ गते ६१ जनाविरुद्ध दायर गरेको थियो । तीमध्ये ३९ जना प्रहरी हिरासतमा थिए । अदालतले ३२ जनालाई भने थुनामुक्त गर्दै जमानतमा रिहा गरेको छ ।
दुर्गा प्रसाईँविरुद्ध सरकारले राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, संगठित अपराध तथा अन्य गम्भीर अभियोग लगाउँदै सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।
प्रसाईँको पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी, टंक दुलाल, डा. भीमार्जुन आचार्य लगायतका कानुन व्यवसायीहरूले बहस गरेका थिए । सरकारी पक्षबाट सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले नेतृत्वमा चार जनाको टोलीले प्रतिवादीका तर्कहरूको जवाफ दिएका थिए ।
तीनकुने घटनामा 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' तथा 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति'ले प्रदर्शन आयोजना गरेका थिए । प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको आगलागीमा र कीर्तिपुर नगरपालिका–४ का २९ वर्षीय सविन महर्जनको गोली लागेर मृत्यु भएको थियो ।
यद्यपि दुर्गा प्रसाईँ क्यान्सर पीडित भएकाले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिने अदालतले जानकारी गराएको छ ।