कञ्चनपुर । अत्यधिक गर्मी बढेपछि कन्चनपुरको एक नगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । जिल्लाको बेलौरी नगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको हो ।
गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज मंगलवार र भोलि नगरभित्र सञ्चालित सम्पुर्ण विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले बताए ।
बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको चौधरीको भनाई छ । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ ।
दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।