झापा । माईखोलाको बाढी बस्ती पस्दा झापामा २२ घर डुबानमा परेका छन् । जिल्लाको झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी पसेपछि २२ घर डुबानमा परेका हुन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेको हो ।
बाढी गाउँ पसेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ। वडाध्यक्ष हिमाल चम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ ।
माईखोलामा सामान्य बाढी आउँदा समेत गाउँ पस्न थालेको बताउँदै वडाध्यक्ष चम्लागाईले भने, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम बढेको छ ।” यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको चम्लागाईको भनाई छ ।