काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको आयोजना र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको समन्वयमा करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा ८५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा कर अधिकृत रमेश श्रेष्ठले कर सम्बन्धी विभिन्न विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए भने सहभागी व्यवसायीहरूको जिज्ञासाको समेत सम्बोधन गरेका थिए। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सेवन्तक कोईराला, परराष्ट्र मन्त्रालयका भेष प्रसाद भुर्तेल, गृह मन्त्रालयका उपसचिव छविलाल पौडेल र नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. संजय प्रसाद मिश्र विशिष्ट अतिथिका रूपमा सहभागी थिए। उनीहरूले शैक्षिक परामर्श व्यवसायमा पालना गर्नुपर्ने कानूनी प्रावधान तथा पछिल्ला सुधारका विषयमा जानकारी गराएका थिए।
महासंघका वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराईले वैदेशिक अध्ययनबाट फर्किएका युवाहरूको ज्ञानलाई राज्यले मानव पूँजीका रूपमा उपयोग गर्नुपर्ने धारणा राख्दै, सेवा निर्यात अन्तर्गत शैक्षिक परामर्श व्यवसायमा मूल्य अभिवृद्धि कर (VAT) को शून्य दर र अग्रिम आयकरको दर घटाउनुपर्ने सुझाव प्रस्तुत गरे।
महासंघका अध्यक्ष राजेन्द्र बरालले कार्यक्रम अत्यन्तै उपलब्धिमूलक रहेको बताउँदै यस्ता कार्यक्रमलाई देशव्यापी रूपमा सञ्चालन गर्न महासंघ प्रतिबद्ध रहेको जानकारी गराए। उनले कर कानून र प्रणालीको ज्ञानको अभावले व्यवसायीहरूलाई समस्यामा पार्न सक्ने उल्लेख गर्दै शिक्षामूलक कार्यक्रमको महत्त्वमा जोड दिए। साथै, विद्यार्थीले तिर्ने सेवा शुल्क फिर्ताको प्रक्रिया सरल बनाउनुपर्ने माग गरे।
विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि राहत तथा उद्धारको उद्देश्यले अक्षयकोष स्थापनाको आवश्यकता रहेको महासंघ अध्यक्ष बरालको भनाइप्रति प्रमुख कर अधिकृत आचार्यले पूर्ण समर्थन जनाए।
कार्यक्रमका अध्यक्ष तथा प्रमुख कर अधिकृत गोबिन्दराज आचार्यले शैक्षिक परामर्श व्यवसाय विस्तारसँगै यस क्षेत्रलाई व्यवस्थित गर्दै कर दायरामा ल्याउन पहल आवश्यक रहेको बताए। प्रमुखले शैक्षिक परामर्श व्यवसायमार्फत पारदर्शिता प्रवर्द्धन गर्दै रोजगारी सिर्जना तथा आर्थिक विकासमा योगदान गर्न सकिने सम्भावना पनि व्यक्त गरे।
साथै, नेपाललाई शिक्षा हबको रूपमा विकास गर्दै विदेशी विद्यार्थीहरूलाई समेत आकर्षित गर्न सकिने सम्भावना रहेको उल्लेख गरे। कार्यक्रमको समापन प्रमुख कर अधिकृत आचार्यले गरेका थिए भने कार्यक्रमको संचालन कर अधिकृत वेद प्रसाद खनालले गरेका थिए।