काठमाडाैं । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णहरी शर्मा पोखरेलले आज नेपाल प्रहरी स्कुल साँगाको निरीक्षण तथा अनुगमन गरेका छन्।
निरीक्षण तथा अनुगमन पश्चात् एआइजी पोखरेलले नेपाल प्रहरीको पहिलो विद्यालयको रूपमा स्थापित विद्यालयले नेपाल प्रहरी तथा सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रको साथै विद्यार्थीहरूको चौतर्फी विकासमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।
एआईजी पोखरेलले विद्यालयले सुधारका लागि अंगिकार गर्ने रचनात्मक पहलहरू, विद्यालयलाई थप स्रोत तथा साधनहरूबाट सुसम्पन्न गराउने प्रयासहरू एवम् विद्यालयको क्षमता र सुविधा विस्तारसँगै समयानुकूल स्तरवृद्धि गर्ने सन्दर्भमा प्रहरी प्रधान कार्यालय सदैव चिन्तनशील रहँदै आएको उल्लेख गरे ।
साथै उक्त कार्यक्रममा प्रहरी स्कुलका प्रिन्सिपल मोहनप्रसाद पौडेल, नेपाल प्रहरी प्रधान कार्यलय कल्याण महाशाखा प्रमुख एसएसपी राजेन्द्र धमला, नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी प्रज्वल महर्जन, जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल विक्रम शाह, नेपाल प्रहरी स्कुल साँगाका डिएसपी मिनबहादुर कुँवर लगायत प्रहरी कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।