भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, कलमसीमा निर्माणाधीन १ सय ८ फिट अग्लो शिव मूर्तिका लागि आयोजना गरिएको शिवपुराण ज्ञान महायज्ञबाट २ करोड २९ लाख २० हजार ३ सय ५० रुपैयाँ बराबरको सहयोग संकलन भएको छ । शिव पुराण महायज्ञ आयोजक समितिले बुधबार कल्पेश्वर महादेव मूर्ति निर्माण स्थलमा पत्रकार सम्मेलन गर्दै महायज्ञको आय–ब्यय सार्वजनिक गरेको हो । आम्दानी मध्येबाट २८ लाख ४६ हजार ५ सय २ रुपैयाँ महायज्ञ सञ्चालनमा खर्च भएको पनि आयोजक मूल समारोह समितिले जानकारी दिएको छ ।
चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीलाई साक्षी राखेर घोषणा गरिएको शिव पुराण महायज्ञको आय–ब्यय सार्वजनिक कार्यक्रममा समेत मेयर खत्रीलाई उपस्थित गराईएको थियो । दुवै पटक मेयर खत्रीले आयोजक पक्षको हौसला बढाउने मन्तब्य राखेका थिए । चाँगुनारायण नगरपालिकालाई धार्मिक पर्यटनको नयाँ गन्तब्य बनाउन १ सय ८ फिट अग्लो शिव मूर्ति सहायक सिद्ध हुनेमा मेयर खत्रीले भरोसा ब्यक्त गरेका छन् ।
महायज्ञमा भएको २८ लाख खर्च कटाएर बाँकी रहेको २ करोडभन्दा बढी रकम पूर्व घोषित १ सय ८ फिट अग्लो शिव मूर्तिको निर्माण कार्यमा लगानी गरिने पनि आयोजक पक्षले स्पष्ट पारेको छ ।
धार्मिक पर्यटनको सम्भावना बोकेको यो क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउन, नगरकोट भ्रमण वर्ष २०८२ को सन्दर्भ जोडेर स्थानीय समाजसेवी, जनप्रतिनिधि, धार्मिक विद्वान र आम नागरिकहरूको सक्रियतामा गत वैशाख २ गतेदेखि १३ गतेसम्म शिवपुराण महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञको आयोजना कल्पेश्वर धाम परिसरमै गरिएको थियो, जहाँ मूर्तिको कम्मरसम्मको संरचना यसअघि नै निर्माण भइसकेको थियो ।
महायज्ञको नेतृत्व गरेका वडा नं. ८ का वडाध्यक्ष जनक खत्रीले यो आयोजनाबाट जम्मा भएको रकम १०८ फिट अग्लो शिव मूर्तिको निर्माण र त्यसलाई घेर्ने १००८ शिवलिङ्गहरूको संरचनामा मात्र खर्च गरिने पनि प्रस्ट पारे । ‘महायज्ञको मूल खर्च स्थानीय स्रोतबाट बेहोरेका छौं । सहयोग रकमको हरेक रुपैयाँ मूर्तिमा खर्च हुनेछ,’–उनले दृढता व्यक्त गरे । युवा वडा अध्यक्ष जनक खत्रीले उक्त महायज्ञ समारोहको संयोजन गरेका थिए ।
कलमसी कालिका–कल्पेश्वर धाम नामले चिनिने यस क्षेत्रलाई भविष्यमा धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अन्र्तगत शिवपुराण लगाईएको हो । काभ्रेको नाला, बनेपा, धुलिखेलसम्मको दृश्य यहाँबाट स्पष्ट देखिने भएकाले यो स्थल प्राकृतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिएको छ । चाँगुनारायण –८ तथा बनेपा–१ को संगमस्थलमा अवस्थित यो स्थानमा दर्शनार्र्थी र पर्यटकको बाक्लो आगमन हुने अपेक्षा आयोजक पक्षले गरेको छ ।