काठमाडौं । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मर्मतका क्रममा जमिनमुनि पानीको पोखरी फेला परेपछि हवाई उडान सेवा दुई दिनका लागि पूर्ण रूपमा स्थगित गरिएको छ । प्रारम्भिक मर्मतका क्रममा चर्किएको भाग उत्खनन गर्दा रनवेभित्र पानी जमेको देखिएको हो ।
नागरिक उड्डयन प्राधिकरण सुर्खेतका अनुसार, धावनमार्गको ०.२ तर्फ बारम्बार चर्किने समस्या देखिएपछि यसको दीर्घकालीन समाधानका लागि मर्मत कार्य थालिएको थियो । मंगलबार र बुधबारका लागि विमानस्थल बन्द गरी मर्मत सुरु गरिएको भए पनि अनपेक्षित रूपमा पानीको खाल्डो भेटिएपछि मर्मत कार्यमा थप दुई दिन लाग्ने भएको छ ।
विशेषगरी उत्तरी भाग — नेवार स्कुलतर्फको क्षेत्रमा जमिन मुनिबाट पानी निस्किएर रनवेमा खाल्डो पर्न थालेको हो । सुरुमा चर्किएको भाग मर्मत गरिए पनि त्यसको केही मिटर दूरीमै पुनः अर्को ठाउँबाट पानी निस्किन थालेपछि विमानस्थलमा हवाई उडान शुक्रबारसम्मका लागि रोकिएको छ ।
यो अवस्थाले दैनिक हवाई सेवा प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन बाध्य पारेको छ । विमानस्थल प्रशासनले शुक्रबारसम्म पानी हटाएर खाल्डो पुर्ने काम सम्पन्न गर्ने र शनिबारदेखि नियमित उडान सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।