काठमाडौं । त्रिशूली नदीमा आज बिहान भएको यात्रुवाहक दुर्घट्नामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या सात पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान करिव ५ बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा परेका मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
३८ जनालाई घाईते अवस्थामा उद्धार गरिएको थियो। उद्धार गरिएका मध्ये दुई जना घाईतेको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये १ जना महिला र ६ जना पुरूष छन्। उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घाइते ३६ जनामध्ये एक दर्जनलाई काठमाडौं र चितवन पठाइएको छ। अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बस नदीमा आधा डुबेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने प्रहरीको अनुमान छ । नेपाल प्रहरीसंगै सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली बिहान सवेरैबाट उद्धारमा खटिएको छ ।
बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई घाईते अवस्थामै प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन भएको छैन ।