काठमाडौं । भद्रपुरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–५ देवीवस्ती निवासी ३६ वर्षीय शम्भु सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल लगिएको र उनको गए राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी पोस्ट मार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।