काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने कामबारे आम नागरिक, उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता तथा विज्ञहरुबाट सुझाव माग गरेको छ ।
सरकारले असोज २१ गते पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठन गरेको गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ६ महिनाभित्र सरकारलाई आर्थिक सुधारका लागि सुझावहरु दिनेछ । सरकारलाई सुझाव दिनकै लागि आयोगले अहिले आम नागरिक, व्यवसायी, लगानीकर्ता, विज्ञहरुबाट सुझाव माग गरेको हो ।
इच्छुक आम नागरिक, वैदेशिक लगानीकर्ता, विज्ञ तथा व्यवसायीहरुले आगामी मंसिर १५ गतेभित्र आयोगको सचिवालय हरिहर भवन ललितपुरमा पुग्नेगरी सुझाव पठाउन सक्नेछन् । त्यस्तै इमेल ठेगाना hlerac@mof.gov.np मा पठाउन सकिनेछ ।
विद्यमान आर्थिक समस्या समाधान गर्दै समतामूलक तथा दिगो उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक/उत्पादनशील अर्थतन्त्र निर्माण, गरिबी निवारण गरी समृद्ध नेपाल निर्माण गर्न आर्थिक सुधारका सुझावहरु आयोगले सरकारलाई बुझाउने छ ।
