काठमाडौं । विदेशी नागरिकसँग बालविवाह गराउने बाबुसहित आठजनालाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । धनकुटाको छथर जोरपाटी-२ की १६ वर्षकी किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती बाल विवाह गराउने उनीहरूलाई सुनसरीको चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
किशोरीलाई घरबाट ललाइफकाइ लगी चतरास्थित औलिया बाबाको मन्दिरमा बाल विवाह भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको छ । यस कार्यमा सम्लग्न तीन चिनियाँ नागरिक र ६ नेपालीलाई पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।
अभियुक्तहरूले धनकुटा छथर जोरपाटी-२ की १६ वर्षकी बालिकालाई चिनको हुबेल बस्ने ३३ वर्षीय लि टेङसँग बाल विबाह गराउँदै गरेको अवस्थामा बेहुलासहितका मानिसहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीले उमेर नपुगेकी छोरीलाई जबरजस्ती विवाह गराउने किशोरीका बाबु, बेहुला चाइनिज नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका-९ का ४३ वर्षीय दिपक दर्जी, ४२ वर्षीय बद्री विक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका-१२ का २० वर्षीय सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका-३ की २० वर्षीया रोशनीमाया तामाङ, अरु दुई चाइनिज नागरिकहरू ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।