काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ ।
रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान सुरु गरेको हो ।
उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेम राज पौडेल, इलाका प्रहरी कार्यालय बुटवल डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देहीमा पठाएको हो । उनको बयान सकेर आज या भोलि कास्की पठाउने तयारी छ ।
६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।
वचत रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाही आफूहरूको प्रमुख माग रहेको जनाइएको छ । सहकारी रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया मार्फत भएको सहकारीको रकम अपचलनमा जीबी राई, रवि लामिछाने, कुमार रम्तेलसँगै जोशीलाई पनि कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।
उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् । सुप्रिमका १ हजार ८ सय ३१ बचतकर्ताले सहकारीका पूर्वअध्यक्ष राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । ती उजुरीहरूको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।