काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले असोज १२ गतेको बाढीपहिरोमा परेका ५ हजार भन्दा धेरै मानिसहरुको उद्धार गरेको छ । रेडक्रसले आज प्रेस विज्ञप्ती जारी गर्दै विपद्को समयमा ५ हजार भन्दा बढीको उद्धार गरिएको र ३ करोड १३ लाख ८० हजार बराबरको गैरखाद्य राहत सामग्रीहरु वितरण गरेको जानकारी गराएको हो ।
यस वर्षको बाढी पहिरोबाट प्रभावित करिब ५००० जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपति लाल श्रेष्ठले जानकारी दिए । ‘५ हजार बढीको उद्धार तथा खाद्यान्न वितरण गरिएको छ भने बाढी पहिरो प्रभावित जिल्लाहरूमा तत्काल् राहत वितरण गर्ने गरी नेरेसोका विभिन्न गोदामघरहरूबाट हालसम्ममा ३ करोड १३ लाख ८० हजार बराबरको गैरखाद्य राहत सामग्रीहरु (कम्बल, त्रिपाल, म्याट्रेस आदि) जिल्ला शाखाहरूमा वितरणका लागि पठाई सकिएको छ ।’, उनले भने ।
हालसम्म ३८१७ परिवारलाई २ करोड २७ लाख रुपैयाँ बराबरको नगद र गैरखाद्य राहत समग्रीहरू वितरण गरिसकिएको समेत उनले जानकारी दिए । विपद्को समयमा ८७४ जना स्वयंसेवक तथा कर्मचारीहरू खोज तथा उद्धार कार्यमा परिचालित भएका श्रेष्ठले जानकारी दिए ।
विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० साल भदौ १९ गतेका दिन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिकोे सदस्य संस्थाको रूपमा स्थापना भई नेपाल रेडक्रस सोसाइटीले देशभरि नै मानवीय सेवाका कार्यहरू गर्दै आइरहेको छ ।