काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ । कार्यालयले सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपनि रास्वपाका नेता कार्यकर्ताले सोही स्थानमा प्रदर्शन गरेका हुन् । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्याकर्ताबीच धकेलाधकेलसमेत भइरहेको जनाइएको छ । अहिले पनि रास्वपाका नेता तथा कार्यकर्ताले रवि लामिछाने पक्राउको विरोधमा सहिदचोकमा नारावाजी गरिरहेका छन् ।
पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपनि रास्वपाले षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै सरकारको विरोध गर्दै आएको छ । लामिछानेलाई आजै अदालतमा पेस गरिँदै छ । उनको पेसी न्यायाधीश नवराज दाहालको इजलासमा परेको छ । लामिछानेविरुद्धको मुद्दा एक नम्बर न्यायाधीशकै बेञ्चमा परेको छ ।
शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको थियो ।