काभ्रेपलाञ्चोक । मानव कल्याण समाज (सेवा घर) मा बुधवार दशैं मनाइएको छ । काभ्रेको पनौतीस्थित सेवा घरमा पूर्व मन्त्री तथा प्रतिनिधिसभाका पूर्व सांसद महेश बस्नेत, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, लगायतको उपस्थितिमा दशैंको सामुहिक टीका र जमरा लगाइएको हो ।


दशैंको अन्तिम दिन पूर्व मन्त्री र बागमती प्रदेशका मन्त्री थापाले बाल सेवा घरका बालबालिका र संस्थाका अभियन्तालाई टीका र जमरा लगाएर आशिर्वाद दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री एमालेका युवा नेता बस्नेतले सुमि मानवले धेरै संघर्ष गरेर मानव कल्याण समाज हालको अवस्थामा आइपुगेको बताए । सुरुवाती दिनहरुमा धेरै अभावहरुबाट गुज्रिँदै विस्तारै बालबालिकाहरुलाई अहिलेजस्तो सेवा दिन सकेको बस्नेतकाे भनाई थियाे । बस्नेतले आफूले स्थापनाकालदेखि नै मानव कल्याण समाज (सेवा घर) लाई सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।

सुमि मानव वास्तवमा नै समाज सुधारक अभियन्ता रहेको र आफूलाई स्वघोषित ‘अभियन्ता’ मान्नेहरुले उनको मार्ग पछ्याउनुपर्ने बस्नेतले बताए । ‘अहिले हजार दुई हजार पैसा बाँडेर फोटो खिचाइ सामाजिक सञ्जालमा राखेर आफूलाई अभियन्ता भन्नेहरुको भिड बढीरहेको छ । उनीहरुले सुमि मानवसँग अभियन्ता हुन समाज प्रतिको उत्तरदायित्व सिक्नुपर्ने आवश्यकता छ ।’, उनले भने ।

स्वास्थ्य मन्त्री किरण थापाले बाल घरका साथै उपस्थित सबैलाई दशैंको शुभकामना व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव कल्याण समाजकी संस्थापिका सुमि मानवले सडक मानवलाई आधारभूत आवश्यकता पुरा गरिदिएर महान कार्य गरिरहेको बताए । ‘बाटोमा दयनीय अवस्थामा भेटिएकाहरुलाई सुमि मानवले खाना, नाना र छाना दिएर महान काम गरिरहनुभएको छ ।’, उनले भने । ‘मन्दिरमा गएर भेटी चढाउँदा पुण्य हुन्छ भन्ने मानिसहरुको हुलबाट निस्किएर मानव सेवालाई नै सबैभन्दा ठूलो धर्म मानेर मानव कल्याण समाज स्थापना गरी सेवा दिनुभएकोमा हामी आभारी छौं ।’, स्वास्थ्य मन्त्री थापाले भने ।

बालबालिकालाई ल्याएर राखेको मात्र नभएर उनीहरुको सबै आवश्यकताहरु पुरा गर्दै आएकोमा सुमि मानव वास्तवमै समाजका लागि आदर्श रहेको मन्त्री थापाकाे भनाइ थियाे । सुरुवातमा भाडाको घरबाट नै सेवा घर सञ्चालन गरेदेखि हाल जग्गा प्राप्तीसम्म मानवले कडा मिहिनेत गरेको उनले बताए । खानेकुराका लागि समेत अरुको सहयोग लिनुपर्ने लगायतका कठिनाइबाट अनुभव बटुल्दै सेवा घरलाई हालको अवस्थामा स्तरोन्नति गर्न सक्षम भएकोमा मन्त्री थापाले मानवलाई बधाइ समेत दिए ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले मानव कल्याण समाजको सेवा घरमा बस्दै आएका सबै बालबालिका र वृद्धवृद्धाको निःशूल्क स्वास्थ्य बीमा गरिदिने र त्यसका लागि लाग्ने शूल्क सबै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी विनियमावलीसमेत बनाई सकेकाे मन्त्री थपाले बताए । ‘अब सेवा घरमा बस्नुभएका बालबालिकाका साथै वृद्धवृद्धा सबैको निःशुल्क स्वास्थ्यबीमा गरिन्छ ।’ उनले भने । साथै, कतिपय स्थानमा स्वास्थ्य बीमा गर्दा नागरिकता, बसाइँसराइको कागज आदि नभएका कारणले समस्या आएकाले त्यसलाई पनि समाधान गर्न बागमती प्रदेशले कार्यविधि पास समेत गरिसकेको थापाले जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेशकि पुर्व सांसद प्रतिमा श्रेष्ठ, राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष लगायतले पनि सेवा घरका बालबालिका साथै अभियन्ताहरुलाई टीका, जमरा लगाइदिएर आशिर्वाद दिएका थिए ।