काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज दुई वटा बस निःशुल्क सञ्चालन गरेको छ । निःशुल्क सञ्चालन गरिएका यी बस टीकाको मुख्य दिन भोलि पनि चल्नेछन् ।
दशैँ मनाउन सार्वजनिक गाडीका चालक र सहचालक पनि आफ्नो घर जाने, गाडी पनि कम चल्ने भएकाले सर्वसाधारणको आवतजावतका लागि केही सुविधा पुगोस् भन्ने उदेश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहारी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार एउटा बसले रिङरोड भित्रका सर्वसाधारणलाई र अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई सेवा दिनेछ । निःशुल्क बस सेवाको एक नम्बर रुटले प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी त्यहिँ रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।
त्यसैगरी, अर्को दुई नम्बरको रुटमा नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ । यी बस बिहान साढे ८ बजे र दिउँसो चार बजे गरी दुई सिफ्ट चल्नेछन् । 