काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।
स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।
घटनाबारे खबर आएपछि त्यसतर्फ नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
अहिलेसम्म के के भयो भन्ने विवरण आइनसकेको उनले बताइन् । उक्त क्षेत्रमा पुग्न गाडीमा एक दिन र पैदल दुई दिन हिड्नुपर्दछ ।
हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अप्नाउन आग्रह गरेको छ ।