काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक तथा भाडाका सवारीसाधन सञ्चालनमा समयसीमा तोकिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त रुटमा सञ्चालन हुने सवारीसाधन बिहान ५ बजेदेखि मात्रै चलाउन पाउने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार हेटौँडातर्फ जाने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी सूचनामा यात्रु, चालक तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जनाइएको छ ।
प्रशासनका अनुसार पछिल्लो समय काठमाडौं–बल्खु–दक्षिणकाली–हेटौँडा सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएको र त्यसबाट मानवीय क्षतिसमेत भइरहेको छ ।
साँघुरो, भिरालो तथा घुम्ती मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति र रातिको समयमा अँध्यारो सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको प्रशासनको ठहर छ । त्यस्तै, चालकको अत्यधिक कार्यबोझ, अनिद्रा तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोलाई पनि दुर्घटनाका सम्भावित कारणका रूपमा औँल्याइएको छ ।
प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक सवारीसाधनको यान्त्रिक अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, काठमाडौं जिल्लाभित्र उक्त सडकखण्डमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधन अनिवार्य जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ ।
निर्धारित समयतालिका तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न प्रशासनले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
