भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ । दुर्घटनास्थलको सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो ।
प्रत्यक्षदर्शीहरुले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै बिहीबार प्रदर्शन गरेका थिए ।
काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले पछाडीबाट ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला छन् ।
फुटेजको दृश्य अनुसार ठक्कर दिएपछि चालकलाई ट्रकले लछारेको देखिन्छ । भाडा ट्रकले बायाँतर्फ गुडिरहेको स्कुटरलाई ठक्कर दिएको देखिएको छ । ट्राफिक प्रहरीको चेकजाँच कटेपछि दुर्घटना भएको फुटेजमा देखिएको छ ।
लामो सयमदेखि दुर्घटना न्यूनिकरणमा काम गरेका ट्राफिक प्रहरीलाई यस्तो दुर्घटनालाई ‘ब्लाइन्ड स्पट’ भन्छन् । ट्रक चालकले बायाँतर्फ गुडिरहेको स्कुटर देख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएकाे छ ।