काठमाडौं । सरकारले नियुक्तिका लागि सिफारिस गरेका विभिन्न देशका १८ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।मंगलबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले भारत, अमेरिका, बेलायत, चीनलगायतका देशका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।
बैठकले प्रस्तावित राजदूतहरूविरुद्ध सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको समिति सभापति पशुपति शमशेर जबराले बताए । सुनुवाइका लागि प्रस्ट आधार र प्रमाणसहित सार्वजनिक उजुरी दिन १० दिने सूचना जारी गर्ने निर्णय भएको सभापति जबराले बताए ।
सरकारले शंकरप्रसाद शर्मा भारत, कान्ता रिजाल अस्ट्रेलिया, नरेशविक्रम ढकाल साउदी अरेबिया, डा. कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेन, सहिल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्रा.डा. कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल र रिता धिताल पाकिस्तानका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।