काठमाडौं । १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवार अथात् आजदेखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको हो ।
सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस भएका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवारदेखि सुरु हुने सुनुवाइ समितिले जनाएको छ।
बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको शङ्कर हलमा १२ः १५ मा सुरु हुने संसद् सचिवालयले जनाएको छ। बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ। सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो।
उनीहरूमाथि उजुरी मागेपछि समितिमा उजुरी दर्ता हुनेछ। उक्त उजुरीको आधारमा समितिले सुनुवाइ गर्नेछ। गम्भीर उजुरी परेमा उनीहरूलाई अस्वीकार पनि गर्न सक्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरू नियुक्ति हुनेछन् ।