काठमाडौं । एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान अझै नखुलेको बताइएको छ । दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट तथ्य संकलनमा ढिलाई भएपछि पहिचान खुल्न नसकेको हो ।
चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचानका लागि अझै तथ्याङ्क संकलनको काम भइरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागले जनाएकाे छ ।
परिवारका आफन्तबाट मृतकको हुलियाको तथ्यांक संकलन भइरहेको छ तर पूर्णरुपमा तथ्यांक प्रप्त हुन नसकेको र शव सुरक्षित राखिएकाे अस्पतालले जनाएकाे छ ।
गत २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो । मल्लको शव भने परिवारलाई जिम्मा लगाइएको छ ।