काठमाडौं । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्र्टीको निर्दशन विपरीत काम गर्न थालेको भन्दैे पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।
मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधिएको हो । मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारमा मनपरी गरेपछि पहिलो पटक पार्टीको तर्फबाट स्पष्टीकरण सोधिएको जनाइएको छ ।
मुख्यमन्त्री सिंह जनताको काम भन्दा औपचारिक कार्यक्रमहरूको उद्घाटनतर्फ बढी लागेको समेत जनमत पार्टीले स्पष्टीकरण पत्रमार्फत आरोप लगाएको छ । साथै बजेटमा सांसदहरूका लागि पाँच करोड रुपैयाँ दिने विवादास्पद निर्णय गरेकोमा पनि पार्टीले मुख्यमन्त्रीसँग स्पष्टीकरण मागेको जनाइएको छ ।
मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा (एमाले), जनमत र लोसपाबाट एक–एक जना गरी ५ राज्यमन्त्री थप गरेका थिए।
१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए। यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए। यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो।