काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म\कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । विभागले १९ हजार टन चिनी आयात गर्न प्रस्ताव आह्वान गरेको हो । जसअनुसार, नेपालले भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार टन चिनी आयात गर्ने भएको छ ।
चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २ हजार ६ सय टन तोकिएको छ । अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीले चिनी आयातका लागि सोमबार (साउन २८) सम्म प्रस्ताव पेस गर्न सक्नेछन् ।
१९ हजार टनभन्दा बढी परिमाण आयात अनुमतिका लागि आवेदन परे न्यूनतम २ हजार ६ सय टन कोटा नघट्ने गरी समानुपातिक रूपमा कोटा बाँडफाँड गरिने विभागले जनाएको छ ।
सातभन्दा बढी कम्पनीबाट आवेदन पर्यो भने सुरुमा आउने आवेदनलाई पहिलो प्राथमिकता दिइने विभागले जारी गरेको सूचनामा उल्लेख छ । अनुमति पाएको एक महिनाभित्र चिनी नल्याए अनुमति खारेज हुने समेत विभागले जनाएको छ । अनुमति पाएका कम्पनीले चिनी आयात गर्न नसक्ने भए १५ दिन भित्रै जानकारी दिनुपर्ने छ ।
अनुमति प्राप्त कम्पनीले विभागबाट अनुमति प्राप्त गरेको मितिले साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी आयातित चिनी बजारमा बिक्री गर्नुपर्ने सर्त तोकिएको छ ।
चिनीको गुणस्तर समेत सरकारले तोके बमोजिम हुनुपर्ने छ । अनुमति प्राप्त कम्पनीबाट आयातित चिनी मौज्दात, मूल्य, गुणस्तर र बिक्री विवरण साप्ताहिक रूपमा विभागमा बुझाउनुपर्ने जारी सूचनामा उल्लेख छ ।