काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चमा मुद्दा दर्ता भएको १२ वर्षपछि आइतबार यो मुद्दाको अन्तिम फैसला आएको हो । उनलाई ९ महिना कैदको सजाय सुनाइएको छ ।
न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको छ । जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसेको अदालतले बताएको छ ।
२०४८ सालदेखि २०५९ सालसम्म विभिन्न सरकारी सार्वजनिक पदमा रहँदा जोशीले स्रोत नखुलेको २ करोढ १६ लाख बराबरको सम्पत्ति जोडेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको थियो । जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान गरेको थियो । विशेष अदालतले जोशीलाई २०६९ मा दोषी ठहर गरेको थियो । जोशी सोही वर्ष सर्वोच्च अदालत पुगेका थिए ।
जोशी कांग्रेसका सहमहामन्त्रीसमेत बनेका थिए भने गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री पनि भएका थिए । तर, यो भ्रष्टाचार मुद्दापछि उनी पार्टीमा किनारा पर्दै गए भने २०७४ को चुनावमा विद्रोही उम्मेदवार बनेपछि उनी पार्टीबाट निष्कासित भए । साथै निर्वाचन आयोगले उनको उम्मेदवारी पनि रद्द गरिदियो ।