काठमाडौं । हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष यार्सागुम्बा संकलन गर्ने समयमा सर्वसाधारणले अकालमै ज्यान गुमाउने गरेका छन् । जेठदेखि असारसम्म बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न आएका कतिपय सर्वसाधारणले अकालमै ज्यान गुमाउने गरेका हुन् ।
१ महिनामा डोल्पामा मात्रै सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु भएकामध्ये धेरैजसोको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मुगु जिल्लाका उच्च हिमाली पाटनमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाले अकालमै ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
प्रत्येक वर्ष डोल्पा र मुगु जिल्लामा पर्ने राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयलाई पाँच सय देखि तीन हजारसम्म राजश्व तिरेर गएका सर्वसाधारणले अकालमै ज्यान गुमाई रहँदा पनि राज्यले कुनै बिमा लगायतको क्षतिपूर्तिको सुविधा दिने गरेको छैन ।
यार्सा पाटनमा ज्यान गुमाउनेहरूमा कतिपय घरमुली नै हुने भएकाले उनीहरूको घर परिवार बालबच्चाको समेत बिचल्ली भएका धेरै घटनाहरू गाउँघरमा भेटिन्छन् । डोल्पा नेपालमै गुण र परिमाणका हिसाबमा धेरै यार्सागुम्बा पाइने जिल्लाका रूपमा परिचित छ ।
यार्सागुम्बाको मूल्य विश्व बजारमा १० देखि ४० लाखसम्म रहेको यार्सा व्यापारीहरू बताउँछन् । रुकुम,जाजरकोट, सल्यान, जुम्ला, सुर्खेत, दाङ लगायतका जिल्लाबाट सर्वसाधारणहरू यार्सागुम्बा टिप्नका लागि उच्च हिमाली पाटनमा पुग्ने गर्छन् ।