८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश, अनलाइन आवेदन आह्वान

८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश, अनलाइन आवेदन आह्वान

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश, अनलाइन आवेदन आह्वान

    काठमाडौं । बंगलादेशमा जारी आन्दोलनका कारण शनिबारसम्म करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । उनीहरु हवाइ तथा स्थलमार्ग हुँदै नेपाल आइपुगेको मन्त्रालयले शनिबार जानकारी दिएको हो । 

    ‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’,  मन्त्रालयले एक्समार्फत भनेको छ, 'ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरेको छ।’ 

    दूतावासले बंगलादेशका विश्वविद्यालय, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग  समन्वय गर्दै आएको पनि मन्त्रालयले जनाएको छ । 

    बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण नेपाली विद्यार्थीहरु समस्यामा परेका हुन् ।

    यस्तै मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरूका सम्बन्धमा अनलाइन निवेदन दिन अनुरोध गरेको छ । 

    जारी गरिएको सूचनामा भनिएको छ, 'बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ ।’

    परराष्ट्र मन्त्रालयले तोकेका सम्पर्क व्यक्तिहरू

    महेश्वरमणि त्रिपाठी (९८५११६६९८७), शाखा अधिकृत, परराष्ट्र मन्त्रालय, काठमाडौं (mahesh.mofa@gmail.com), योजना बम्जन (+८८०१८८०६९१०१३), द्वितीय सचिव, नेपाली राजदूतावास, ढाका (eondhaka@mofa.gov.np, eondhaka@dhaka.net), रिया क्षेत्री (+८८०१७४५४०७९५८), (info@mofa.gov.np) ।

    कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनमा ३५ जनाको मृत्यु भइसकेको छ । आन्दोलन थप हिंस्रक बन्दै गएपछि बंगलादेश सरकारले देशभर कर्फ्यु समेत लगाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij