वीरगञ्ज महानगरद्वारा ६१ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज महानगरद्वारा ६१ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन

शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१
  • वीरगञ्ज महानगरद्वारा ६१ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन

    वीरगञ्ज । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार १ सय ३१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महानगरले सङ्कलन गरेको उक्त राजस्व अघिल्लो आर्थिक बर्षको तुलनामा ४ करोड ४५ लाख ४३ हजार ९ सय ३० रुपैयाँले बढी हो । 

    महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व सङ्कलन गरेको बताए । ‘‘आर्थिक मन्दिले करदाता  पीडामा भएको बेला पनि उक्त रकम राजस्व सङ्कलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ”, उनले भने, “आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो ।” 

    राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए । “गत आर्थिक बर्षमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व सङ्कलनमा पनि परेको छ”, उनले भने । 

    महानगरले गत आर्थिक बर्षमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ । सो शीर्षमा  महानगरले २० करोड ६ लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । 

    चालु र पुँजीगत खर्च पनि उत्साहजनक छैन

    महानगरको गत आर्थिक बर्षमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ । महानगरले पुँजीगततर्फ १ अर्ब ८ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये सो अवधिमा ६८ करोड १० लाख रुपैयाँ रकम खर्च गर्न सकेको हो । त्यस्तै चालु खर्चतर्फ २ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजनमध्ये १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ रकम खर्च गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij