काठमाडौं । नेकपा एमालेले भोलि (आइतबार) बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दैछन्।
एमालेका सबै प्रतिनिधि सभा सदस्यहरुलाई प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।
२७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ। सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण विश्वासको मत प्राप्त गर्न कांग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र समर्थन पनि पर्याप्त हुन्छ। यद्यपि ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन् ।
प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १र१ जना र दुईजना स्वतन्त्र सांसद छन्।