काठमाडौं । नारायणगढ(मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ। उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएका हुन्।
उनीहरू गएराति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको र शनिबारदेखि सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा खटिने जनाइएको छ । नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् ।
नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन् । चितवनतर्फ ५, पश्चिम नवलपरासीमा १ र बाँकी १७ वटा शव पूर्वी नवलपरासीमा भेटिएका हुन् ।