काठमाडौं । । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्ध बलात्कार मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। फैसलाको पूर्णपाठ २ महिनापछि उच्च अदालतले शुक्रबार सार्वजनिक गरेको हो ।
गत जेठ २ गतेउच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले नाबालिका बलात्कारको आरोपमा क्रिकेटर लामिछानेलाई सफाइ दिएको थियो । शुक्रबार त्यही फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उच्च अदालतले ‘पीडितको भनाइ मात्रै कसुर ठहर गर्ने प्रमाण हुन नसक्ने’ भनी व्याख्या गरेको हो ।
उच्च अदालतले पीडित गौशाला–२६ को जन्ममिति १८ असार २०६१ नै कायम हुने भनी व्याख्या गरेको छ । स्थानीय तहको जन्मदर्ता, अस्पतालको जन्मदर्ता अभिलेख रजिष्ट्रर लगायतका कागजातले पीडित घटनाको दिन १८ वर्ष पूरा भइसकेको देखिएको उच्च अदालतको व्याख्या छ ।
पीडितको उमेर निर्धारणको हकमा जिल्ला अदालतले गरेको व्याख्या सदर गर्दै न्यायाधीशद्वय भट्ट र ढकालको इजलासले ‘अन्य स्वतन्त्र प्रमाणले पीडितको भनाइ पुष्टि हुनुपर्ने’मा त्यसो हुन नसकेको भनी जिकिर गरेको हो ।
घटनाका बेलामा पीडित बाहेक अन्य व्यक्ति उपस्थित नदेखिएको, सन्दीप लामिछाने केन्यामा क्रिकेट खेल्न गएपछि जाहेरी परेको, घटनाका कारण पीडितमा कुनै चोटपटक नदेखिएको, बीर्य लगायत अरु प्रमाणको परीक्षण नभएको व्याख्या गर्दै उच्च अदालतले त्यसलाई सफाइ दिने आधार बनाएको हो ।
पीडितले उल्लेख गरेको विवरण सन्दीप लामिछानेले स्वीकार गरे पनि बलात्कारको आरोप अस्वीकार गरेको भन्दै उच्च अदालतले घटना विवरण स्वीकार्नुलाई मात्रै कसुर ठहर गर्ने आधार बनाउन नसकिने भनेको छ । उसले ‘शंकारहित प्रमाणको क्रमबद्धता नदेखिएको’ राय लेख्दै त्यसलाई सफाइ दिने आधार बनाएको छ ।
यस्तै दुई जनाबीच भएका घटना जबर्जस्ती नभएर सहमतिका आधारमा भएको र पीडितको पक्षमा भएको फैसला सो हदसम्म मिलेको नदेखिएको पनि अदालतले पूर्णपाठमा व्याख्या गरेको छ।
फैसलाको पूर्णपाठमा भनिएको छ, ‘सबै घटनाक्रमहरूलाई विश्लेषण गरी हेर्दा जबरजस्ती करणीको कसूर भएको मान्न मिल्ने अवस्था नदेखिई प्रतिवादीलाई निजको पीडित साबालक ठहर गरी जबरजस्ती करणी गरेको ठहर्याई काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन ।’
यो मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय तोकेको थियो । उक्त फैसलाविरुद्ध लामिछाने उच्चमा गएका हुन् । पाटन उच्चले पूर्णपाठमा प्रतिवादीबाट पेस भएका प्रमाणहरुले अभियोग दाबीको समर्थन गर्ने कुनै आधार नदेखिएको उल्लेख गरेको छ । पाटन उच्चको यही फैसलापछि लामिछानेलाई विश्वकप खेल्नका लागि बाटो खुलेको थियो । यद्यपि जाहेरीवाला किशोरी पाटन उच्चको फैसलाविरुद्ध सर्वोच्च अदालत जान सक्ने छिन् ।
पूर्णपाठ :