काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि सेवाग्राही सर्वेक्षण सुरु गरेको छ । सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो ।
सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेका छन् ।‘महानगरमा सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि बेञ्च मार्किङ गर्दैछौं । एकल सेवा केन्द्र सञ्चालनमा आइसके पछिको सेवाप्रवाहमा आएको परिवर्तनलाई तथ्यसहित मापन गर्न यसले आधार प्रदान गर्नेछ । आगामी वर्ष यही समयमा यस्तै सर्वेक्षण गरेपछि नतिजा थाहा हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने ।
तुलनात्मक विवरणबाट मापन योग्य अवस्था प्राप्त हुने भन्दै उनले काम भएको देखिने तर सेवाग्राही सन्तुष्ट नहुने अवस्था नआओस् भन्नको लागि सर्वेक्षण सुरु गरिएको बताए ।
सेवाग्राहीलाई फाराम भराउन सुरु गर्नुअघि सर्वेक्षणको तथ्याङ्क व्यवस्थापनमा खटिने कर्मचारी, फारम भर्ने भराउने कार्यमा परिचालन हुने इन्टर्न र नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृतको सचिवालयका उपनिर्देशक प्रहलाद घिमिरेले अभिमुखीकरण गरेका थिए । सर्वेक्षणका विविध पक्ष, सर्वेक्षणका क्रममा सेवाग्राहीसँग गर्नु पर्ने आचरण, व्यक्तिगत गोपनीयता र भरिसकेको फाराम व्यवस्थापनको विषय अभिमुखीकरणमा समेटिएका थिए ।
सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन् । यी प्रश्नहरुका वैकल्पिक उत्तर दिइएका छन् । सेवाग्राहीले यसरी दिइएका उत्तरमध्येबाट आफूले अनुभूत गरेको अवस्थाको जवाफमा सही (Ö) चिन्ह लगाउनु पर्नेछ । फाराममा नाम थर लेख्नुपर्ने भए पनि फोन नम्बर अनिवार्य गरिएको छैन ।
सर्वेक्षणका लागि २ जना इन्टर्न विद्यार्थी र १ जना नगर प्रहरी खटाइएको छ । सर्वेक्षणमा सहभागी हुने सेवाग्राहीलाई ५ वटा मास्क प्रदान गरेर हार्दिकता प्रकट गरिने महानगरले जनाएको छ । अन्य दिन १२ बजेदेखि ५ बजेसम्म र शुक्रबार १२ बजेदेखि ३ बजेसम्म भराइने सर्वेक्षण सेवाग्राहीको स्वेच्छिक हो । पहिलो चरणमा ५ सय जना सेवाग्राहीले फाराम भरेपछि यसको विश्लेषण हुने परियारले जानकारी दिए ।