काठमाडौं । चितवनमा रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् । बुधबार भरतपुर महानगर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि आगजनी गरेका थिए ।
गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको थियो । सो टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । आज वडा नं.७ मा सर्भे गर्दागर्दै सयौ स्थानीय भेला भएर विरोध गरेका थिए ।
पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ ।