काठमाडौं । चितवनको भरतपुर–२९ सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा मंगलबार थप चारवटा शव फेला परेका छन् ।
हालसम्म गैँडाकोट–७ गैरीमा करिब ३५ वर्षीय पुरुष, मध्यविन्दु–१२ तमासपुरमा करिब ३५ वर्षीया महिला, गैँडाकोट–१० खरखरेमा करिब ४० वर्षीय पुरुष र विनयी त्रिवेणी–७ गण्डक ब्यारेजको पुलमा करिब ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । नारायणी नदी किनारमा भेटिएका चारवटै शवको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएकाे छ ।
पछिल्लो दिनमा जिल्लामा भेटिएका अन्य शव सिमलताल पहिरामा बेपत्ता भएकाहरूका रहेकाले यी शव पनि त्यही घटनामा बेपत्ता भएकाहरूका हुनसक्ने भन्दै आफन्तलाई बोलाएर शव पहिचान गराउने काम भइरहेको प्रहरीले जनाएकाे छ ।
सिमलताल पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुको शव नवलपुरमा धमाधम भेटिन थालेपछि जिल्लास्थित नारायणी नदी किनारका सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारिएको छ । हालसम्म यहाँ १४ शव भेटिएका छन् । तीमध्ये छ शवको मात्रै पहिचान खुलेको छ । अन्य आठ शवको पहिचान खुल्न बाँकी छ ।
शव खोजीका लागि नवलपुरतर्फ कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटदेखि त्रिवेणीसम्म नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।