काठमाडौं । सिन्धुलीमा जुवा खेल्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा एकजना युवकको हत्या भएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकाको हायुटारबाट रामपुर जाने बाटोमा रहेको मिलनचोकमा जुवाको खालमा लेनदेनको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका- २ चालिसेवगरका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको हत्या गरिएको हो ।
सापटी दिएको पैसा मागेको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका २ का ३० वर्षीय आशमान वाईवा र ३८ वर्षीय भुण्टे भनिने ज्ञानबहादुर वाइवालगायतले चिर्पटले हानेर बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
उनको पेट,खुट्टा,दायाँ गालाको कञ्चटमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । घटनामा संलग्न आशमान र ज्ञानबहादुरलाई घ्याङलेख गाउँपालिका २ को पञ्चसिंह वाइवाको घरमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा अन्य केहि व्यक्तिलाई समेत पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।