कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती

शनिवार, आषाढ २९ २०८१
शनिवार, आषाढ २९ २०८१
  • कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती

    काठमाडौं । कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । २६ असारमा परेको भारी वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो । 

    कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भाग पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सिधा यातायात विच्छेद भएको छ । २१ असारमा खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर २६ असारमा करिब तीन घण्टा सञ्चालनमा आएको थियो ।

    सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिए । अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । 

    कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेल बताउँछन् । उनले भने, 'पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ ।' कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सिधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

    किसानले उत्पादन गरेको दूध सहज रूपमा बजारमा ल्याउन सकेका छैनन् । बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij